बिहीबार, साउन ४, २०८०
काठमाडौं । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा विहानैबाट वर्षा भइरहेको छ । आज बिहान सुदूरपश्चिम प्रदेश, लुम्बिनी र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ ।


