काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ। काठमाण्डौमा आयोजित विशेष समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा कर्मचारीलाई खादा र सम्मानपत्र प्रदान गरिएको हो।
कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी, नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा सम्मान गरेका थिए।
समारोहमा अध्यक्ष ढकालले बैंकले मर्जर र व्यवसाय विस्तारसँगै गुणस्तर वृद्धिलाई प्राथमिकता दिँदै प्रविधिमैत्री सेवा विस्तार गरिरहेको उल्लेख गरे। उनले बैंकको सफलतामा नेतृत्वसँगै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशीलताको महत्व औंल्याउँदै कर्मचारीलाई अझ समर्पित भएर काम गर्न आग्रह गरे।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकले डिजिटल युगअनुसार नविनतम् तथा ग्राहकमैत्री सेवा विस्तार गर्ने लक्ष्य निर्धारण गरेको बताए। नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अझ गुणस्तरीय बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गरे।
ग्लोबल आइएमई बैंकले विगतमा बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ।
हाल बैंकले ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।


