काठमाडौँ । सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा २५ प्रतिशत बढी आवेदन परेको छ । सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोष प्रवर्द्धनमा सञ्चालन भएको उक्त योजनामा अर्ब २५ करोडभन्दा बढीको मागसहितको आवेदन परेको हो ।
रु. १ अर्ब आकारको उक्त योजनाको इकाई बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई पुस ४ गतेदेखि १८ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो।
प्रारम्भिक विवरण अनुसार सो अवधिमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी, अर्थात् मागभन्दा करिब २५ प्रतिशत बढी आवेदन प्राप्त भएको सिटिजन्स क्यापिटलले जनाएको छ।
यससँगै सिटिजन्स सन्तुलित योजना बढी आवेदन प्राप्त गर्ने म्युचुअल फण्ड योजनामध्ये एक बन्न सफल भएको छ। योजनाप्रति देखिएको व्यापक आकर्षणले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पूँजी बजारमा दक्ष, व्यावसायिक र विश्वसनीय संस्थाका रूपमा स्थापित गरेको संकेत गरेको कम्पनीको भनाइ छ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ।
कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।
हाल कम्पनीले योजना व्यवस्थापन तथा डिपोजिटरी सेवा, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निष्कासन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रार तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ।
आगामी दिनमा पनि पारदर्शिता, सुशासन र जोखिम व्यवस्थापनमा जोड दिँदै नयाँ सामूहिक लगानी कोष सञ्चालन गर्ने र विद्यमान योजनाबाट उच्च प्रतिफल दिने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।


