काठमाण्डौ । प्रभू बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अनुसन्धान जारी रहँदा पनि कानूनविपरीत बैंक प्रवेश गरी दैनिक कार्यसम्पादनमा संलग्न भएको खुलासा भएको छ। केही दिनअघि सरकारी वकिलको आदेशपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई हिरासतमुक्त गरेको थियो।
स्वास्थ्य कमजोर रहेको आधारमा छुटेका शेरचन आइतबारदेखि बैंकको बिजुलीबजारस्थित मुख्य कार्यालयमा सुरक्षागार्डसहित प्रवेश गरी छैठौं तलामा रहेको सीईओ कार्यकक्ष प्रयोग गर्न थालेका छन्। उनले बैंकको टिमलाई निर्देशन दिने, दैनिक कामकाजमा हस्तक्षेप गर्ने कार्यसमेत सुरु गरेको स्रोतले जनाएको छ।
यसरी निलम्बनको अवस्थामा बैंक प्रवेश गरी कार्यभार सम्हाल्न थालेपछि कर्मचारीहरु आश्चर्यचकित बनेका छन्। बैंक सञ्चालक समितिका अध्यक्ष किशोरजंग कार्कीले शेरचनलाई सहयोग गरिरहेको आरोपसमेत लागेको छ। कार्कीले शेरचन निर्दोष साबित हुने दाबी गर्दै उनलाई बैंक सम्हाल्न बोलाएको निकट स्रोतले जनाएको छ।
शेरचनको पुनः प्रवेशले प्रहरीको जारी अनुसन्धान कमजोर पार्ने, प्रमाण नष्ट हुने वा फाइल गायब हुने आशंका कर्मचारीहरुले व्यक्त गरेका छन्। यसैबीच, कामू सीईओ निरज लम्सालले शेरचन अफिस आएको पुष्टि गर्दै, बोर्डसँग विशेष बुझाइ भएकै कारण प्रवेश भएको हुन सक्ने बताएका छन्।
नेपाल राष्ट्रबैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले निलम्बन फुकुवा नभएसम्म पदभार ग्रहण गर्नु कानूनविपरीत हुने स्पष्ट पारे। तर प्रभू बैंकको विषयमा भने आफूलाई जानकारी नभएको बताएका छन्।


