काठमाडौँ / प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गरेको हो ।
विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गरिएको जानकारी दिइन् ।
मंसिर १४ गते पक्राउ परेका शेरचन २७ दिनको हिरासत बसाइँपछि रिहा भएका हुन् । तीनवटा केसमा म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको उनले बताइन् ।
उनका अनुसार शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने छ । स्वास्थ्यमा समस्या देखिएपछि शेरचन चीरायू अस्पतालमा उपचाररत छन् ।
प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीचको लेनदेन विवाद चुलिँदै जाँदा त्यसको असर प्रभु बैंक र बैंकका सिइओ शेरचन पनि छानबिनको दायरामा तानिएका हुन्।
भट्टचन र लामा समेतको लगानी रहेको प्रभु म्यानेजमेन्टले प्रभु मनि ट्रान्सफर तथा प्रभु बैंकको रेमिट्यान्स सुपर एजेन्टका रूपमा काम गर्दै आएको थियो।
रेमिट्यान्स कारोबार सञ्चालनका लागि सहकारीबाट लिइएको धरौटी रकम अपचलन गरिएको आरोप लागेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उक्त विषयमा अनुसन्धान अघि बढाएको हो।


