काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज पुस ९ गतेदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँबराबरको १३ लाख ७९ हजार ३५० कित्ता सेयर जारी गर्ने अनुमति पाएको छ। त्यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको छ। सो आइपीओमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडावासीले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६८ लाख ९६ हजार ७०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ६८ हजार ९६७ कित्ता सेयरमा वैदेशिक रोजगारमा नेपालीले आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


