काठमाडौँ । एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। नेपाल राष्ट्र बैंकको कारबाहीपछि उनले अध्यक्ष पद छोड्ने निर्णय गरेका हुन्।
यसअघि नै राष्ट्र बैंकले अध्यक्ष अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन न्यौपानेलाई कारबाही गरेको थियो। न्यौपाने पहिले नै बैंकबाट बाहिरिसकेका छन्।
अग्रवालले राष्ट्र बैंकबाट कारबाही पत्र प्राप्त गरेपछि राजीनामा दिएको बुझिएको छ। राष्ट्र बैंकले उनीहरूलाई कारबाहीस्वरूप जनही २ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो। कारबाही पत्र बैंकले पुस ४ गते प्राप्त गरेको हो।
अग्रवालको राजीनामा बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ।


