काठमाण्डौ । कुमारी बैंकले ‘ग्रीन हायर पर्चेज कर्जा योजना’ सुरु गरेको छ। दिगो, समावेशी र जिम्मेवार बैंकिङ अभ्यासलाई निरन्तरता दिँदै दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यसहित बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट लगायतका संस्थाद्वारा व्यवस्थापन तथा प्रवर्द्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET4NPAM) परियोजनासँग साझेदारी गर्दै यो योजना कार्यान्वयनमा ल्याएको हो।
यस योजनाअन्तर्गत सार्वजनिक यातायात व्यवसायमा संलग्न व्यक्तिहरूले विद्युतिय बस वा माइक्रोबस खरिद गर्दा आकर्षक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, ऋणीले तिर्नुपर्ने प्रारम्भिक रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट तोकिएका अनुदानहरू पनि उपलब्ध हुनेछन्।
त्यस्तै, हाल इन्धनमा आधारित सार्वजनिक सवारी सञ्चालन गरिरहेका व्यवसायीहरूले आफ्ना सवारी साधनलाई विद्युतिय बस वा माइक्रोबसमा रूपान्तरण गर्न चाहेमा थप अनुदान प्राप्त गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यसका लागि आवश्यक कागजातसहित परियोजनामा आवद्ध आपूर्तिकर्ताबाट सवारी खरिद गरी कुमारी बैंकका शाखामा सम्पर्क गर्नुपर्नेछ।
बैंकका दिगो बैंकिङ विकास विभाग प्रमुख अर्पण पौडेलका अनुसार, यस योजनामा समावेश अनुदानहरूले ऋणिहरूलाई प्रारम्भिक पूँजी व्यवस्थापनमा सहजता दिलाउने मात्र होइन, सार्वजनिक यातायातमा विद्युतिय सवारी प्रयोग बढ्दा प्रदूषण समेत घट्ने बहुआयामिक लाभ प्राप्त हुने अपेक्षा गरिएको छ।
कुमारी बैंकले हाल देशभर ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।


