काठमाडौं । प्राइम कमर्सियल बैंक लि.को संस्थापनादेखि लामो समयसम्म नेतृत्व सम्हालेका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको ८३ वर्षको उमेरमा आज निधन भएको छ ।
सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुख कार्यकारी अधिकृत विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै अन्तमा प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट सेवा निवृत्त भएका थिए ।
नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा उनको लामो सेवा र महत्वपूर्ण भूमिका दिने व्यक्तित्व विरलै हुन्छन् । बैंकले मानन्धरको निधनबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाएको टिप्पणी गरेको छ ।
बैंक परिवारले उनको आत्माको मोक्षका साथ चीर शान्तिको कामना गरेको छ ।


