काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित Euromoney Award for Excellence 2025 अन्तर्गत 'Nepal's Best Digital Bank for SMEs' उपाधि प्राप्त गरेको छ।
सिंगापुरमा सम्पन्न भव्य समारोहकाबिच Euromoney द्वारा प्रदान गरिएको यस सम्मानले बैंकको डिजिटल सेवा तथा SME लक्षित रणनीतिको अन्तर्राष्ट्रिय मान्यता दिएको हो ।
उक्त कार्यक्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित तीन जना महिला अधिकृतहरूले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए।
यसअघि पनि Bank of the Year 2023 बाट सम्मानित भइसकेको प्रभु बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा, नवप्रवर्तन र ग्राहकप्रतिको समर्पणद्वारा सशक्त उपस्थिति जनाइसकेको छ।
SME लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई यस अवार्डले प्रमाणित गरेको छ। बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवाजस्ता अत्याधुनिक सुविधा मार्फत साना तथा मझौला व्यवसायहरूलाई सशक्त पार्दै आएको छ।
बैंकले SME लाई प्राथमिकता दिँदै ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल समाधान विकास र विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ।
प्रमुख कार्यकारी अधिकृतका अनुसार, यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायकै जित हो। उनले साना व्यवसायलाई अझ प्रभावकारी योजनामार्फत सशक्त बनाउन प्रभु बैंक प्रतिबद्ध रहेको उल्लेख गरे ।
हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, २५६ एटीएम र सशक्त डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ ।
डिजिटल नेपाल अभियानलाई आत्मसात गर्दै बैंकले आगामी दिनमा SME लक्षित अझ नवीन र व्यापक डिजिटल समाधान ल्याउने तयारी गरिरहेको जनाएको छ।


