२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रस्तावित ‘गभर्नर’ पौडेल कांग्रेसकै महासमिति सदस्य: देउवालाई गलत सुझाव किन दिँदैछन् ओली ?


सञ्चार डबली
  • आइतबार, वैशाख २८ २०८२
  • 9.2K
    SHARES

  • images
    प्रस्तावित ‘गभर्नर’ पौडेल कांग्रेसकै महासमिति सदस्य: देउवालाई गलत सुझाव किन दिँदैछन् ओली ?

    काठमाडौं, वैशाख २८ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि बनाइएको गभर्नर सिफारिस समितिको बैठक बस्दै नबसी भङ्ग हुने भएको छ। नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेपछि पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिए। भट्टराईको राजीनामा पछि समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई ल्याइयो उनीविरुद्द पनि अदालतमा रिट दायर भईसकेको छ। महाप्रसादलाई सदस्य बनाएको झन्डै दुई साता पुग्न लाग्दा डा. गुणाकर भट्टको सट्टा समितिका सदस्य विश्व पौडेललाई नै गभर्नर बनाउने भन्ने देउवाको अर्को प्रस्तावसँगै पुनर्गठित समिति पनि निष्क्रिय बनेको छ।

    हाल गभर्नर सिफारिस समितिमा संयोजक उपप्रधान तथा अर्थमन्त्री पौडेल, निवर्तमान गभर्नर अधिकारी र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल छन् । पौडेललाई समितिबाट राजिनामा गराएर गभर्नरमा सिफारिस गरिने भएपछि सरकारले अर्को नयाँ सिफारिस समिति गठन गर्नुपर्ने भएको छ।

    राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले राष्ट्र बैंकका निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेका कारण समितिले औपचारिक काम गर्न नपाएको सरकारको गुनासो छ। तर सरकार आँफैले राजनितिक नियुक्ति गरेको व्यक्तिले कर्मचारीको राजिनामा स्वीकार गरेन भन्दै जिम्मेवारीबाट पन्छिनु आँफैमा हाँस्यास्पद भएको जानकारहरु बताउँछन्।

    डा.भट्टलाई गभर्नर बन्न नदिनकै लागि राजीनामा स्वीकार नगर्न निर्देशन दिएका ओलीले देउवालाई अर्को विकल्प दिन भनेपछि उनले पौडेलको नाम प्रस्ताव गरेका छन्। तर उनी पनि कानूनी झमेलामा पर्ने देखिएको छ । नेपाल राष्ट्रबैंक ऐन, २०५८ ले अयोग्य ठहर गर्ने व्यक्ति गभर्नर बनाउने भन्दै कांग्रेसलाई सिफारिस गर्न लगाउने र अन्ततः देउवाले सिफारिस गरेका पात्रलाई कानूनी झमेलामा पारी गभर्नर एमालेकै पोल्टामा पार्ने रणनीतिमा ओली छन्। देउवा ओलीकै निर्देशनमा एकपछि अर्को गर्दै गभर्नरका सम्भावित पात्र अघि सार्दै उनीहरुलाई समेत हतोत्साहित बनाउने काम गरिरहेका छन्।

    भट्टको विकल्पमा ज्ञानेन्द्र ढुंगानाको चर्चा चलेको भए पनि राष्ट्र बैंकको सुपरिवेक्षणमा रहने वाणिज्य बैंकको सिइओबाट भर्खर राजिनामा दिएका व्यक्तिलाई तिनै बैंकका नियामक निकायको गभर्नर बनाउन नमिल्ने ओलीले प्रस्ट्याउँदै आएका छन् ।

    डा. भट्टको विकल्पमा देउवाले अघि सारेका पौडेल हाल गभर्नर नियक्ति सिफारिस समितिका सदस्य छन् । देउवाको प्रस्तावमा ओली सहमत भए गभर्नर बन्न उनले उक्तपदबाट राजीनामा दिनुपर्ने हुन्छ। त्यसपछि उनको ठाउँमा अर्को सदस्य राख्नुपर्ने हुन्छ। उनको राजीनामा स्वीकृत गर्न र अर्को सदस्य नियक्त गर्न पुन: मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने हुन्छ । त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ।

    तर, गभर्नरको योग्यतासम्बन्धी व्यवस्था अनुसार पौडेल अयोग्य ठहर हुने कानुनविद्हरु बताउँछन्।

    नेपाल राष्ट्रबैंक ऐन २०५८ को दफा २१को उपदफा (क) मा राष्ट्रबैंकको गभर्नर, डेपुटी गभर्नर र सञ्चालक बन्न अयोग्य हुनसक्ने प्रावधान छन् जसमा ‘राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको हुन नहुने व्यवस्था छ ।’ त्यस्तै, नेपाल राष्ट्रबैंक ऐनको दफा २० मा नेपाल राष्टबैंकको गभर्नर वा सञ्चालक बन्न सम्बन्धित क्षेत्रमा उच्च तहको कार्यानुभव रहेको हुनुपर्ने भनिएको छ। जसका कारण पनि उनलाई गभर्नर बन्नका लागि राष्ट्र बैंक ऐन बाधक बन्ने देखिएको छ।

    को हुन् पौडेल ?
    कांग्रेसकै तर्फबाट गभर्नर नियक्ति सिफारिस समितिका सदस्य बनेका विश्व पौडेल नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन्। उनी हाल पार्टीको महासमिति सदस्य समेत छन् । पौडेल देउवापत्नी आरजू राणाका निकट मानिन्छन्। राणाकै जोडबलमामा उनी राष्ट्रिय योजना आयोगको सदस्यदेखि उपाध्यक्षसम्म बनेका थिए।

    पौडेल संसदीय निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट कांग्रेसका उम्मेदवार थिए । राणासँगको निकट सम्बन्धकै कारण डा. स्वर्णिम वाग्लेलाई हटाएर पौडेललाई उम्मेद्ववार बनाईएको भए पनि उनलाई हराउन कांग्रेसकै नेता तथा कार्यकर्ता लागिपरेपछि उनले लज्जास्पद् हार व्यहोर्नुपरेको थियो।

    चितवनमा चुनाव हारेपछि देउवाले उनलाई ‘कतै न कतै नियुक्ति दिउँला’ भनेका थिए। तर गभर्नर एमालेको भागमा पर्ने भएपछि देउवाले पौडेललाई सिफारिस समितिमा बस्न भनेको देउवा निकट स्रोत बताउँछ। स्रोत भन्छ,- सभापति ज्यू पहिले नै पौडेललाई नै गभर्नर बनाउने पक्षमा हुनुहुन्थ्यो। आफ्नो भागमा प्रहरी प्रमुख पर्ने निश्चित भएकाले त्यतातर्फ खासै चासो देखाउनु भएन । तर प्रहरी प्रमुख एमालेको भागमा परेपछि भने गभर्नर आँफैले पाउने अडानमा हुनुहुन्छ।’

    तर, पार्टीका सक्रिय कार्यकर्तालाई नेपाल राष्ट्रबैंकजस्तो स्वायत्त संस्थाको नेतृत्वमा पुर्याउंदा यसको गरिमामाथि नै आँच आउने भन्दै पार्टीभित्रै आलोचना सुरु भएको छ। ओली देउवालाई कानुनले अयोग्य ठहर गर्ने व्यक्ति गभर्नरका लागि प्रस्ताव गर्न लगाउने र उनीहरुलाई कानूनी उल्झनमा पारी निलम ढुंगानालाई नै गभर्नर बनाउने योजनामा रहेको कांग्रेसकै आधिकांस नेताहरुको निष्कर्ष छ। त्यसो हुन्थेन भने देउवाले अघि सारेका राजनीतिबाट टाढा रहेका निष्कलंकित पात्र गुणाकार भट्टकै राजिनामा स्वीकृत गराएर गभर्नर नियुक्त सक्ने उनीहरुको दावी छ।

    ओलीले ‘गभर्नर तपाहरुकै भागमा हो’ भन्दै अनेक बाहनामा नियुक्ति प्रकृया लम्ब्याउने र अन्तत: आँफैले रुचाएका व्यक्तिलाई गभर्नर बनाउने गुप्त योजनामा ओली छन्। उनी आँफैले डेपुटी बनाएकी ढुंगानालाई नै गभर्नर बनाएर ‘महिला गभर्नर बनाए’ भन्ने चर्चा बटुल्ने गुप्त योजनामा छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend