काठमाडौं, ९ असार । सामाजिक सञ्जालमा गाली गलौजमा नउत्रिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै सभापति लामिछानेले समर्थकले जथाभावी टिप्पणी गर्दा नेताहरुलाई पनि अप्ठेरो पर्ने उल्लेख गरेका छन् । सभापति लामिछानेले पार्टीका नेताहरुलाई आएको गाली र आलोचनामाथि टिप्पणी गर्दा पनि सभ्य ढंगले गर्न लामिछानेले आग्रह गरेका छन् ।
सभापति लामिछानेले भने, ‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन् । असाध्यै धेरै गालीगलौज गर्छन् भनेर आरोप लागेको छ । अब त्यो आरोप खपेर बस्न मिल्दैन’ । ‘म यो पनि तपाईहरुलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनुपर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाइदिनुभयो भने अहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन्, पहिला त कस्तो थिए, अहिले त कति राम्रा भएछन् ? आलोचना त गर्छन, सुन्छन । तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनुपर्नेछ’, लामिछानेले भने ।


