२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पहिरोले उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध


सञ्चार डबली
  • सोमबार, असोज १२ २०८३
  • 682
    SHARES

  • images
    पहिरोले उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

    काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउन निरन्तर प्रयास भइरहेको छ। सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको छ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ। ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाइएको छ।

    कृष्णभिरमा खसेको पहिरो पन्छाएपछि भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्। चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रवक्ता सुवेदीले जानकारी दिए।

    पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

    वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित ७ राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ। कान्ति लोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ।

    यस्तै, बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध बनेको छ।

    दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन सञ्चालन भइरहेका छन् भने ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको सुवेदीले बताए।

    राजमार्गको अवस्था सामान्य नभएसम्म धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार नगर्न र पूर्वसूचना लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend