२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शुक्रबार तीनकुनेमा भएको हिंस्रक घटनाको महासङ्घद्वारा निन्दाः क्षतिपूर्ति माग


सञ्चार डबली
  • शनिबार, चैत १६ २०८१
  • 9.2K
    SHARES

  • images
    शुक्रबार तीनकुनेमा भएको हिंस्रक घटनाको महासङ्घद्वारा निन्दाः क्षतिपूर्ति माग

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले शुक्रबार तीनकुनेमा भएको हिंस्रक घटनाको निन्दा गर्दै त्यसबाट भएको क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् ।

    दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग पनि गरेका छन् । उनीहरुले विभिन्न माग राखी हुने आन्दोलन तथा प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    यही चैत १५ गते उक्त स्थानमा भएको आन्दोलनका क्रममा मानवीय क्षतिसँगै धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै एफएनसिसिआईले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंस्रक घटनाबाट क्षति भएकामा त्यसको भत्र्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ ।

    “संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छ । कुनै पनि स्वरुपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासङ्घ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासङ्घ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ,” महासङ्घले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    यसैबीच, नेपाल उद्योग तथा व्यवसाय महासङ्घले पनि आज एक विज्ञप्ति निकालेर विगतदेखि नै देशका उद्योगी– व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय सङ्घसंस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न आक्रमण भएका, ती आक्रमणको उद्देश्य उद्योगी–व्यवसायी र आम जनतालाई आर्थिक रुपमा कमजोर बनाई राज्यलाई नै असफल बनाउने कुत्सित प्रयत्न भएको भन्दै त्यस्ता गतिविधिको निन्दा गरेको छ ।

    शुक्रबार दिउँसो भएको तीनकुने तथा कोटेश्वरलगायत स्थानमा भएका आपराधिक गतिविधिको निन्दा गर्दै महासङ्घले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

    “यस्ता गतिविधिहरुको विरुद्ध सचेत हुँदै व्यावसायिक जगत् र जनसमुदायको जनधनको सुरक्षाका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई सचेत हुन महासङ्घ हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

    साथै महासङ्घले शुक्रबारको घटनामा संलग्न सम्पूर्णलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गर्न, शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थाका निम्ति सरकारलाई आग्रह गरेको छ । महासङ्घले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै उद्योगी व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend