२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरुलाई पनि रहेको छ :  प्रवक्ता श्रेष्ठ


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 9.2K
    SHARES

  • images
     गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरुलाई पनि रहेको छ :  प्रवक्ता श्रेष्ठ

     

    काठमाडौं, २९ जेठ । गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरुलाई पनि रहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘गणतन्त्रको निर्वाध उपभोग गर्ने अधिकार गणतन्त्रवादीलाई मात्रै होइन, गणतन्त्र नमान्नेहरुलाई पनि त्यत्तिकै छ ।’

    संसदमा आफ्ना सांसदहरुले उठाएका विषयलाई अन्य दलका सांसदहरुले आपत्ति प्रकट गर्नु आपत्तिजनक र संविधानविपरीत रहेको भन्दै प्रवक्ता श्रेष्ठले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षाबाहेक अन्य कुनै पनि धारा अपरिवर्तनीय नरहेको संविधानसमेत संशोधन गर्न सकिने संवैधानिक प्रावधान रहेको स्मरण गराएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा ‘युद्ध अपराध’को मुद्दा चलाउनुपर्ने माग गर्दै रिट दर्ता भएको र जवाफका लागि प्रचण्डलाई बोलाएकाले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए । यसपछि माओवादी केन्द्रका सांसदहरुले नियमापत्ति जनाउँदै शाहीको भनाइ रेकर्डबाट हटाउन माग गरेका थिए ।

    बैठक समापनपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग माओवादीका माधव सापकोटा र लेखनाथ दाहालले शाहीको भनाइमा आपत्ति जनाएका थिए । सांसद शाहीलाई संसदमा बोल्न माइक दिनुनहुनेसम्म अभिव्यक्तिपछि राप्रपा प्रवक्ता श्रेष्ठले गणतन्त्रको उपभोग गर्ने अधिकार गणतन्त्र नमान्नेहरुलाई पनि रहेको जवाफ दिएका हुन् ।

    ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान र नेपालीको हकहितको रक्षा बाहेक अन्य कुनै पनि धारा अपरिवर्तनीय नरहेको ’संविधान’ समेत संशोधन गर्न सकिने संवैधानिक प्रावधान भुलेर केही दलका केही सांसदले राप्रपा र राप्रपाका सांसदहरुले संसदमा उठाएका राजनीतिक, सामाजिक र जनजीविकासंग सम्बन्धित विषयहरुमा आपत्ति प्रकट गर्नु आपत्तिजनक र संविधानविपरीत छ ।

    आन्दोलन र संघर्ष मार्फत परिवर्तन गरिएको दाबी गर्नेहरूले नभुलुन्– गणतन्त्रको निर्वाध उपभोग गर्ने अधिकार गणतन्त्रवादीलाई मात्रै होइन, गणतन्त्र नमान्नेहरुलाई पनि त्यत्तिकै छ ।’ प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend