२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भयो : अर्थमन्त्री पुन


सञ्चार डबली
  • आइतबार, वैशाख ९ २०८१
  • 8.2K
    SHARES

  • images
    विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भयो : अर्थमन्त्री पुन


    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर शनिबार स्वदेश फर्किएका मन्त्री पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमण उपलब्धिमूलक भएको बताए । 

    उनका अनुसार माथिल्लो अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादनमा विश्व बैंकले साढे ८ सय मिलियन डलर (करिब १ अर्ब १३ करोड २८ लाख) बराबरको लगानी गर्ने सहमति भएको छ । सस्तो ब्याजको ऋण दिने र विश्व बैंकले वित्तीय व्यवस्थापन गर्ने सहमति भएको भन्दै उनले ६३५ मेगावाटको दूधकोसीमा एसियाली विकास बैंक (एडीबी)ले वित्तीयकरणको नेतृत्व गर्ने तर विश्व बैंकले पनि त्यसमा सहभागी हुने जानकारी दिए । 

    उनले भने,‘अहिले अपर अरुणको एक हजार ६५ मेगावाट विद्युत उत्पादनलाई तयारी अवस्थामा छ हाम्रो । र, त्यसमा विश्व बैंकले नेतृत्व गर्नुपर्छ भनेर हामीले सस्तो ब्याजको ऋणका लागि अनुरोध गरिराखेका थियौं । यस पटकको एउटा सफलता भनेको यो भयो कि विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी सस्तो ब्याजको ऋण दिने र उसले नेतृत्व गर्ने सहमति भएको छ । ६३५ मेगावाटको दूधकोशीमा पनि एसियाली विकास बैंक (एडीबी)ले नेतृत्व गर्छ तर विश्व बैंकले पनि त्यसमा हुन्छ ।’

    उनले विश्व बैंकका उपाध्यक्षसहितको टोलीसँग भएको छलफलपछि नेपालमा कुन फ्रेमवर्कमा लगानी गर्ने भन्ने कुरा टुंगिएको पनि जानकारी दिए । नेपाली मूलका अमेरिकीहरुबाट नेपालमा लगानी बढाउने प्रतिबद्धता आएको पनि उनले सुनाए ।

    मन्त्री पुनले एमसीसी पदाधिकारीहरुसँग पनि छलफल भएको भन्दै नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले नेपालमा विदेशी लगानीकर्ताहरुको बाहुल्य रहँदा अमेरिका तेस्रो स्थानमा रहेको बताए । आगामी लगानी सम्मेलनबाट थप लगानी गर्न अमेरिकीहरु इच्छा व्यक्त गरेको उनको भनाइ छ । लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्सका उपाध्यक्ष नै उपस्थित हुने उनले बताए ।

    ‘समग्रमा हेर्दा अहिलेको लगानीमा अमेरिकन लगानीकर्ताहरु तेस्रो ठूलो लगानीकर्ताका रुपमा नेपालमा रहेछन् । थप लगानी गर्न अमेरिकन लगानीकर्ताहरु तयार र उत्साहित रहेको पायौं,’ उनले भने, ‘लगानी सम्मेलनमा अमेरिकाको चेम्बर अफ कमर्सको उपाध्यक्ष नै उपस्थित हुन स्वीकार गर्नुभएको छ । थप लगानी पनि घोषणा हुने भनिएको छ । आईटी लगायतका क्षेत्रमा लगानीको घोषणा हुँदैछ, सकारात्मक छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend