५ जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले ६ गतेदेखि १० गतेसम्म गर्ने नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।
विज्ञप्तिमा भिनएको छ, ‘ सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्री ज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सारकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।’
२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।


