मंगलबार, जेठ २, २०८०
सर्वोच्च अदालतले कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।
अदालतले टिकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ । टीकापुर घटनामा उच्च अदालत दिपायलले चौधरीसहितलाई जन्मकैदको फैसला गरेको थियो ।
०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् ।


