२९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज) नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा सो जहाज उडेको थियो । सो जहाजले चालक दलका सदस्य बाहेक १३ जना यात्रु बोकेर रेसुङ्गा आएको सो जहाज रेसुङ्गाबाट १४ यात्रु बोकेर ७ बजेर ४५ मिनेटमा काठमाडौं फर्किएको विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर आयुशा कार्कीले जानकारी दिइन् । अब रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान हुनेछ ।
रेसुङ्गा विमानस्थल गुल्मीको रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ । जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पछि विमानस्थल पुग्न सकिन्छ । कुल ३३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । १५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा विमानस्थल समुद्र सतहदेखि एक हजार ५२६ मिटरको उचाइमा रहेको छ । रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार ५ सय पर्दछ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्मको दुरी ५० मिनेटको छ ।


