विहीबार, २८ बैशाख २०८०
काभ्रे । दोस्रो जनआन्दोलन २०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार राति ८ बजे उनको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।
१७ वर्षदेखि अचेत अवस्थामा रहेका मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए । १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा निधन भएको हो । मुकेश कक्षा आठको जिल्लास्तरीय परीक्षा सकेर साथीभाइसँगै जुलुसमा होमिएका थिए । मुकेशको कञ्चटमा गोली लागेको थियो । बायाँ कञ्चटमा गोली लागेर घाइते भएका मुकेशले तीन हप्तापछि मात्रै आँखा खोले ।
पछिल्ला चार वर्षदेखि उसको स्वास्थ्य झन् जटिल बन्दै गएको थियो । त्यस पछि मुकेश पूरै अचेत अवस्थामा ओच्छ्यानमै रहे र उनको हेरचाह्र आमा मीराले गर्दै आएकी थिइन् । मुकेश कायस्थको भोलि अन्त्यष्टि गरिने प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले बताए ।


