प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधार देखिए पनि जनतामा अझै आशा जगाउन नसकिएको बताएका छन्।रेस्पोन्सेबल विजनेश समिट कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा देखिएको दबाबलाई चिर्दै देशभित्र लगानीको वातावरण बनाउने प्रयास अझै जारी रहेको पनि बताए।
‘तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ। तर, आमजनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ’, उनले भने, ‘त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषण गर्ने तयारी गरिरहेको छु। त्यसमा यहाँहरुको सक्रिय सहभागिता, महत्वपूर्ण सुझाव र कार्यान्यवनमा जिम्मेवारीवोध एवम् तत्परता रहने विश्वास लिएको छु।’
दाहालले बुधबार मात्रै शासकीय सुधारमा केन्द्रित रहेर सरकारका बहालवाला र भूतपूर्व कर्मचारीहरूको बृहत गोष्ठी गरिएको बताए। ‘त्यसबाट समेत केही महत्वपूर्ण सुझाव र दिशानिर्देश प्राप्त भएको छ’, उनले भने, ‘शासकीय सुधारका क्षेत्रमा केही नयाँ गर्न सकियो भने त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिने विश्वास लिएका छौँ।’


