२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम


सञ्चार डबली
  • आइतबार, मंसिर १७ २०८०
  • 7.8K
    SHARES

  • images
    विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

    नवलपरासी, १७ मंशिर ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ ।

    चिनी मिलहरुले समयमै भुक्तानी नगरि दिदाँ पछिल्लो समय उखु किसानहरु बैकल्पिक कृषि पेशातर्फ जान थालेका छन् । सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको किसानको गुनासो छ । 

    सधैंको यो समस्याबाट यसपटक पश्चिम नवलपरासीका किसानहरु मुक्त भएका छन् । सरकारले दिने अनुदान वापतको रकम यसपटक किसानले समयमै पाएका छन् । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन् । उनले उखुको समर्थन मूल्य तोक्न र अनुदान रकम उपलब्ध गराउन कृषि मन्त्रालयलाई निरन्तर ताकेता गर्दै आएका छन् । 

    नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ‘सन्तु’ले सांसद विनोद चौधरीको पहलका कारण किसानले अनुदान वापतको रकम पाएको बताए । उनले भने, ‘हामी यहाँका जनप्रतिनिधि, उखु किसान गएर माननीय विनोद चौधरीसँग कुरा राख्यौं । उहाँले कृषि मन्त्रालयमा निरन्तर ताकेता गर्नुभयो । अनुदान रकम भुक्तानी गर्न कृषि मन्त्री, सचिव, कोलेनिकाका प्रमुखसँग कुरा गर्नुभयो ।’

    कृषि मन्त्रालयले कृषि विभागमार्फत नवलपरासी पश्चिममा १५ करोड १२ लाख १५ हजार ५५८ रुपैयाँ अनुदान रकम वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नवलपरासीले जनाएको छ । 

    ‘दशैं अगाडि नै कृषि विभागबाट १५ करोड रुपैयाको अख्तियारी आएको हो । त्यसपछि हामीले उद्योगबाट किसानको विवरण मागेर डकुमेण्ट रुजु गरेर वितरण सुरु गरिसकेका छौं,’ जिल्ला कोलेनिका प्रमुख परशुराम नेपालले भने । उनका अनुसार पश्चिम नवलपरासीमा ६ हजार १९४ किसानका लागि अनुदान रकम आएको हो । 

    कृषि मन्त्रालयले आर्थिक बर्ष ०७९-८० का लागि अनुदान रकम प्रतिक्विन्टर ७० रुपैयाँ तोकेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुदान रकम वितरण गरिएको हो । चिनी उद्योगबाट प्राप्त विवरणका आधारमा किसानको बैंक खातामा अनुदान रकम पठाउने काम भइरहेको समिति संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले उल्लेख गरे । ‘उखु किसानलाई दिने रकम निकासा भइसकेको छ । उनीहरुको बैकिङ खातामा रकम निकासा गरेका छौं,’उनले भने ।

    उखुबापतको अनुदान रकम पाएपछि किसान खुसी छन् । ‘यसअघि अनुदान रकम पाउन निकै गाह्रो हुन्थ्यो, यसपटक माननीय विनोद चौधरीले पहल गर्नुभयो भनेर हामीले थाहा पायौं । पैसा हाम्रो खातामा आइसकेको छ, सुस्ता, विर्ताका उखु किसान राजेश्वर जयसवालले खुसी व्यक्त गर्दै भने, माननीयज्यूलाई धन्यवाद ।’ 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend