२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

बुक बिल्डिङ विधिबाट पहिलोपटक निष्कासित सर्वोत्तम सिमेन्टको आइपिओको बाँडफाँड, संस्थागत लगानीकर्ताले दिए मागभन्दा बढी आवेदन


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 8.4K
    SHARES

  • images
    बुक बिल्डिङ विधिबाट पहिलोपटक निष्कासित सर्वोत्तम सिमेन्टको आइपिओको बाँडफाँड, संस्थागत लगानीकर्ताले दिए मागभन्दा बढी आवेदन

    बुक बिल्डिङ विधिबाट पहिलोपटक निष्कासित सर्वोत्तम सिमेन्टको आइपिओको बाँडफाँड भएको छ । पहिलो चरणमा संस्थागत लगानीकर्तालाई खुलाएको २४ लाख कित्ता आइपिओ बाँडफाँड गरिएको हो ।

    मङ्सिर ६ गतेबाट खुलाइएको आवेदनमा ४१ संस्थागत लगानीकर्ताले मागभन्दा १.५ गुणा बढी अर्थात ३६ लाख १९ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका थिए । धितोपत्र बोर्डले कम्पनीको सेयरको आधारमूल्य ५०१ रुपैयाँ तय गरेर आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने व्यवस्था छ ।

    सोही अनुसार योग्य संस्थागत लगानीकर्ताले बिक्री मूल्यको माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि ६०१.२० रुपैयाँ र तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४००.८० भित्र रहेर आवेदन फारम भरी शीलबन्दी गरेको गोप्य बोलपत्र फारम नेप्सेमा बुझाएका थिए । बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरूमध्ये सबैले तल्लो सीमाकै आसपासको मूल्यमा सेयर कबोल गरेका थिए । 

    नेप्सेका अनुसार बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरूमध्ये कुमारी क्यापिटल र त्यसै अन्तर्गत सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले सबैभन्दा धेरै ४०६ रुपैयाँमा बोलपत्र पेश गरेका छन् । कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ता सेयरका लागि बोलपत्र पेश गरेको जनाइएको छ । नागरिक लगानी कोषले चार लाख कित्ता प्रति कित्ता ४०५ रुपैयाँमा खरिद गर्न बोलपत्र पेश गरेको छ ।

    कामना सेवा विकास बैंकले ४०१.५१ रुपैयाँमा दुई लाख कित्ताको लागि बोलपत्र पेश गरेको छ । यसैगरी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट प्राली, स्काइ टच इन्भेष्टमेन्ट कन्सटट्यान्ट, अलका इन्भेष्टमेन्ट प्रालि, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४०१ रुपैयाँको दरमा चार लाख ८० हजार कित्ता सेयरमा लागि बोलपत्र पेश गरेका छन् भने सोही मूल्यमा प्रभु सेलेक्ट फण्डले दुई लाख २० हजार कित्ता सेयर माग गरेको छ ।

    त्यसबाहेक प्राय संस्थागत लगानीकर्ताले न्यूनतम मूल्य अर्थात ४००.८ देखि ४०१ रुपैयाँसम्म बोलपत्र पेश गरेका छन् । सबै कित्ताका लागि माग परेको हुँदा कटअफ प्राइस न्यूनतम ४०१ रुपैयाँमा नै अब सेयर बाँडफाँड हुनेछ । कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्नेछ ।

    संस्थागत लगानीकर्तापछि अब सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्नेछ । कुल ६० लाख कित्तामध्ये संस्थागत लगानीकर्तालाई छुट्याइएको ४० प्रतिशत पछि अब ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता सेयर ३ सय ६० रूपैयाँ ९० पैसाको दरमा सेयर बिक्री गर्नेछ ।

    कम्पनीले पहिले ६२६.२५ रुपैयाँ आधारमूल्य तय गरि माथिल्लो सीमा ७५१.५ रुपैयाँ र तल्लो सीमा ५०१ रुपैयाँ कायम गरि संस्थागत लगानीकर्तालाई आइपिओ जारी गर्न लागेको थियो । तर पछि देशको समग्र आर्थिक अवस्था देखाउँदै आधारमूल्य परिमार्जन गरेको कम्पनीको भनाई छ । परिमार्जित मूल्य समेत महँगो भएको भन्दै कतिपय आशय मूल्य पेश गरेका संस्थागत लगानीकर्ताले समेत बोलपत्र पेश गरेका थिएनन् ।

    आर्थिक वर्ष २०७९/८० को असारसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी पाँच रुपैयाँ १३ पैसा रहेको छ भने नेटवर्थ १ सय ८५ रुपैयाँ १९ पैसा रहेको छ । लगानीको साधारण लगानी फिर्ता हुने अवधि (क्यास ब्याक पिरियड) ३ वर्ष ९ महिना रहेको छ भने डिस्काउन्टेड क्यास ब्याक पिरियड ४ वर्ष ७ महिना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend