२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

४५ मिनेटको रत्नपार्क–सूर्यविनायक ‘डेडिकेटेड लेन’ द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भोलिदेखि


सञ्चार डबली
  • बुधबार, असोज ३ २०८०
  • 11.4K
    SHARES

  • images
    ४५ मिनेटको रत्नपार्क–सूर्यविनायक ‘डेडिकेटेड लेन’ द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भोलिदेखि

    ३ असोज, काठमाडौं । संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उद्घाटन आज हुनेछ । उद्घाटनको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयरहरु मात्र चढ्ने छन् ।

    यात्रुहरुका लागि भने असोज ४ गते बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडीबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिनु नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्नेछन् ।

    ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार उक्त लेनमा केही निश्चित बस चल्नेछन् । ‘बिहान ९ बजेदेखि ११ र दिउँसो ४ बजेदेखि ६बजेसम्म उक्त डेडिकेटेड बसहरु चल्नेछन् । यस्तै, केहीईमरजेन्सी सेवाकासवारी साधन पनि उक्त लेनमा चल्न पाउनेछन्,’ प्रहरी वरिष्ठ उपरीक्षक भट्टले भने, ‘यो नियमले गर्दा यात्रुहरुलाईसमयमै यात्रा गर्न सहज हुनेछ । नयाँ लेनको व्यवस्थाले सडक संकेत, सडक चिन्हका कारण दुर्घटना न्यूनीकरणमा पनि उत्तिकै सहयोग पु¥याउने छ । भट्टले भने, ‘यो सवारी आवागमनलाई र रोड ट्राफिकलाई व्यवस्थित गर्न बनाइएको हुनाले यसले दुर्घटना घटाउनेछ ।’

    यात्रु कुरेर बस्ने छैनन् द्रुत सेवाका बस

    यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार ‘द्रुत बस सेवा’ भनेर लेखिएका बस सेवाको बुधबार उद्घाटनको दिन यात्रुहरु चढ्न पाउने छैनन् । यात्रुहरुको सेवाका लागि भोलिपल्ट मात्र यी बसहरु हाजिर हुनेछन् । ‘बुधबार नमूना मात्रै देखाउने हो, ४ असोजदेखि पूर्णरुपमा सञ्चालन हुन्छ’, विभागका प्रवक्ता पनेरुले भने ।

    रत्नपार्क-सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागका प्रवक्ता पनेरुले जानकारी दिए ।

    विभागका अनुसार यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्ने छन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँबानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो लगायत स्थानमा यात्रु चढाउने र ओराल्न मात्रै हुनेछ । अरु बसहरु जस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने छैनन् ।

    द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् । ती बसहरु रातो रंगले पोतिएको लेनमा मात्र चल्ने छन् । यी लेनहरुमा दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई द्रुत सेवाका लगि २५ वटा बस व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । सार्वजनिक यातायातलाई ट्राफिक जामबाट मुक्त गर्न संसारभर यस्ता द्रुत सेवाका सवारी साधन चलाउने गरिन्छ । नेपालमा भने यो पहिलोपटक सुरु हुन थालेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend