२६ भाद्र २०८०, मंगलवार डोल्पा । १६ दिन देखि बेपत्ता रहेका डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलवार भेरी नदीमा शव भेटिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-५ करबगाडस्थित चिन्ढेबगर नजिक भेरी नदीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।
भेरी नदीमा माछा मार्न जालखेल्दै जानेक्रममा विहान ६ बजेतीर त्रिपुरासुन्दरी ५ का परिमल भनिने शिबमल सार्कीले चिण्ढेबगरस्थित भेरीनदीको किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खवर गरेका थिए । दुई ओटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायँ हातको कान्छी औलामा औँठी देखेपछि आफुले बेपत्ता मेजर हुनकी भनेर जाल खेल्न छाडेर चौकीमा पुगेर खवर गरेको सार्कीले बताए । सार्कीले खवर गर्ने वित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खवर गरे लगत्तै प्रहरी नायव उपरिक्षक शिब बुढाथोकीको टोली उद्धार सामाग्रीसहित घटनास्थल गएको हो ।
त्यसलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा एउटा टोली खटिएको थियो। उद्धार सामाग्रीसहित नेपाली सेनाका मेजर रवि शाहको टोली पनि चिण्ढेबगरमा पुगेको थियो। प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली पनि पुगेर खोचमा रहेको शव बाहिर निकालेर पहिचान प्रयास गरेको थियो।
घडी र औँठीबाट शव मेजरको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरीक्षक शिब बुढाथोकीले बताए। शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीयसमेतको उपस्थितीमा मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा ल्याइँदैछ।
शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डित समेत घटनास्थलमा पुगेका थिए । काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि त्रिपुराकोटबाट सम्पर्कविहिन भएका थिए।
मेजर पण्डितलाइ त्रिपुराकोटसम्म पुर्याएका चालक नगेन्द्र बस्नेतको यस्तो छ भनाइ :
म गाडीसहित गाडीमा दुई तीन जना यात्रुहरु थियौं । अन्य यात्रुहरु टिकटक बनाइराख्नु भएको थियो । सोही समयमा उहाँ आउनुभयो । मलाई हतार छ, त्रिपुराकोट जानुछ, छिटो जाउँ भन्नुभयो । जीप रिजर्भ गरेर गएका मेजर पण्डितलाइ दुनैबाट त्रिपुराकोट पुर्याउने सवारी चालक नगेन्द्र बस्नेत । मैले गाडी स्टार्ट गरे । उहाँले त्यसबेला भन्नुभयो, ‘तिमिले गाडी कहीँ कतै रोक्नु परेन् । मैले डिएसपी सापसँग कुरा गरेको छु । गाडी कहिँ कतै इन्ट्री गर्नुपर्दैन जाउँ भनेपछि अगाडी बढ्यौं ।’
उहाँले म मजेर साप हो भन्नु भएको थियो मैले तर यहीँको कोही लोकल हुनुहोला मेयर साप भन्ने बुझे । उहाँले बोलिरहँदा हतोत्साहित अवस्थामा हुनुहुन्थ्यो, बोली लडबडिरहेको थियो । ब्यारेक नजिकै पुगेपछि उहाँले नै सेनालाई गेट खोल्न लगाउनुभयो । गेट खोली पछि हामी त्रिपुराकोटतर्फ लागौं । ईमरजेन्सी लाइट बाल्न लगाउनुभयो । कालागौडादेखि माथि सोलिङ गरेको ठाउँ पुगेपछि उहाँको मोबाइलमा फोन आयो । गाडीमा गीत बजाइरहेकाले भोलुम घटाउ भन्नुभयो र फोनमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘फोन रेकर्ड मेरो हैन, म्यासेज नि मेरो हैन ।’ उहाँले हतार गरेपछि गाडीको स्पिड बढाउन भन्नुभयो मैले गाडी अलि छिटो चलाउन थाले, पहिलो पटक फोन राखेको पाँच मिनेट पछि पुनः उहाँको मोबाइलमा फोन आयो, केही बेर कुरा गरेर राख्नुभयो । उहाँले नै भाडाको रकम खातामा पठाइदिन्छु, खाता नम्बर छ भनेर सोध्नुभयो । मैले छैन खाता भनेपछि रिभर साइटमा झरेर सोध्नुभयो, ‘पैसा ट्रान्सफर्मर गर्छु मलाई अलि बढी पैसा चाहिएको छ भन्दा त्यहाँ कसैले खातामा पैसा पठाउन नमिल्ने बतापछि पुनः गाडी चढ्नुभयो ।’
हामी अगाडी बढौं, मैले भने हाम्रो गाडी साहुसँगै कुरा गर्नुहोला जाउ भनेपछि त्यहाँ छोडेर साउजीसँग कुरा गराएर म खाली गाडी लिएर फर्किए । फर्किदा बाटोमा त्रिपुराकोटतर्फ गइरहेको नेपाली सेनाको गाडीसँग भेट भयो । उहाँहरुले रोकेर भन्नुभयो, ‘मेजर साप लिएर गाडी गएको यहीँ हो ।’ मैले हो भने त्यसपछि मात्रै थाहा भयो की उहाँ त मेजर साप पो हुनुहुँदो रहेछ । त्यसपछि उहाँहरुले थप कुरा नगरेर उहाँहरु उता जानुभएको हो । उहाँले गाडी भाडा ६ हजार पाँच सय रूपैयाँ साहुजीलाई दिनु भएकाले त्यसपछि उहाँ कहाँ जानुभयो मलाई जानकारी छैन् ।


