२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न 


सञ्चार डबली
  • मंगलबार, भदौ २६ २०८०
  • 11.0K
    SHARES

  • images
    एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न 


    काठमाडौ, २४ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी  विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत थिए । 

    इलाम क्षेत्र नं. १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताएका छन् । उनले देश र जनताका लागि पुर्‍याएको योगदान अतुलनीय रहेको जनाउँदै देशले नै शोक मनाइरहेको बताएका छन् । 

    गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताएका छन् । “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ”, उनले भने, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।”

    राजजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, “म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।”

    नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चालेको कदम बिर्सन नसकिने बताएका छन् । “कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो”, उनले भने, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।”

    माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, “उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।” रासस

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend