सञ्चारडबली
२०८० श्रावण, ३२ बिहिवार
काठमाडौँ र नबिल बैंक लिमिटेड भदौँ १ गते शुक्रबारदेखि लागु हुने गरि भदौँ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदरअनुसार बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर स्थिर राखेको हो ।बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले रेमिटेन्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा पनि सोही ब्याजदर कायम थियो ।
यस्तै, बैंकले व्यक्तिगततर्फ ३ देखि ६ महिनाका लागि साधारण मुद्दति निक्षेपमा ९.४९, ६ महिनादेखि २ वर्ष अवधिमा ९.९९ र २ वर्षभन्दा माथिको मुद्दति निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिँदै आएको छ । त्यस्तै रेमिट्यान्स मुद्दति निक्षेपमा ३ देखि ६ महिनाको १०.४९, ६ महिनादेखि २ वर्षको १०.९९ र दुई वर्षभन्दा बढी अवधिको लागि ११.४९ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
भदौँ महिनाको लागि बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंककाअनुसार रेमिट्यान्स खातामा भने १०.४९ प्रतिशतदेखि ११.४९प्रतिशतसम्म ब्याजदर तोकिएको छ । साउनमा पनि सोही ब्याज कायम थियो ।
बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । बैंकको आधार दर ९.५२ प्रतिशत र स्प्रेड दर ४.९९ प्रतिशत छ । त्यस्तै, नबिल गोल्ड बचत खाता, कर्पोरेट बचत खाता, नबिल गोल्ड पेरोल बचत खाता, नबिल ढुक्क बचत खातामा ७.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
यससँगै नबिल सेयरहोल्डर्स बचतखाता र नबिल प्रिमियम पेरोल बचतखातामा ६.४० प्रतिशत ब्याज र कर्पोरेट प्रिमियम बचतखातामा ६.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अरु सबै प्रकारका बचत खातामा ५.९० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।


