काठमाडौँ / महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ।
यस सहकार्यअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यो योजना कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म लागु हुनेछ।
बैंकका अनुसार डेबिट कार्डमार्फत भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ। त्यस्तै, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ।
उक्त छुट प्राप्त गर्न ग्राहकले दराजबाट सम्बन्धित भौचर सङ्कलन गर्नुपर्नेछ। योजनाअन्तर्गत छुट प्रदान गर्दा सहभागी हुने ग्राहकहरूमध्ये पहिलोलाई प्राथमिकता दिइने बैंकले जनाएको छ।
विश्वव्यापी रूपमा मनाइने ११.११ अभियानमार्फत आफ्नो डिजिटल बैंकिङ सुविधालाई थप विस्तार गर्ने उद्देश्यले दराज नेपालसँग सहकार्य गरिएको बैंकले जनाएको छ।
यसबाट ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्नुका साथै भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउन तथा डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टि बढाउन सहयोग पुग्ने बैंकको विश्वास छ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौँको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।

