काठमाडौं । बागमती प्रदेश सरकारले राइड सेयरिङमा प्रयोग हुने मोटरसाइकल तथा स्कुटरलाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने व्यवस्था गरेसँगै यातायात कार्यालयमा दर्ता प्रक्रिया सुरु भएको छ।
यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौंमा हालसम्म एउटा कम्पनीमार्फत ५ वटा मोटरसाइकल कालो नम्बर प्लेटमा दर्ता भएका छन्।
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले गत असोज १ गते यातायात व्यवस्था कार्यालय गुर्जुधारालाई ८ बुँदे निर्देशन जारी गर्दै दुईपाङ्ग्रे सवारीलाई सार्वजनिक सवारीका रूपमा दर्ता तथा सञ्चालन गर्ने प्रक्रिया स्पष्ट पारेको थियो।
कार्यालयका सूचना अधिकारी गोविन्दराज शिवाकोटीका अनुसार दर्ता प्रक्रिया खुला गरिएको भए पनि हालसम्म पाँचवटा मोटरसाइकल मात्रै सार्वजनिक सवारीका रूपमा दर्ता भएका छन्।
उनका अनुसार सुरुमा मोटरसाइकल निजी सवारीका रूपमा रातो नम्बर प्लेटमा दर्ता हुने र आवश्यक मापदण्ड पूरा गरेपछि सम्बन्धित कम्पनीमार्फत कालो नम्बर प्लेटमा रूपान्तरण गर्न सकिने व्यवस्था छ।
व्यक्तिगत रूपमा सवारीधनीले कार्यालय पुगेर आफ्नो मोटरसाइकल सीधै कालो प्लेटमा रूपान्तरण गर्न पाउने छैनन्। त्यसका लागि सम्बन्धित राइड सेयरिङ कम्पनीमार्फत प्रक्रिया अघि बढाउनुपर्नेछ। साथै, मोटरसाइकलको उमेरसम्बन्धी मापदण्डसमेत पूरा गर्नुपर्नेछ। पुराना मोटरसाइकललाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्न नपाइने कार्यालयले जनाएको छ।
मन्त्रालयको निर्देशनअनुसार सार्वजनिक सवारीका रूपमा दर्ता हुने दुईपाङ्ग्रे साधनमा कालो नम्बर प्लेट कायम गरिनेछ। यस्ता सवारीलाई मिटर जडित ट्याक्सीसरह रुट परमिट प्रदान गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, सवारीको प्रदूषण जाँच, जाँचपास तथा आवश्यक दस्तुर प्रदेश आर्थिक ऐन र प्रचलित मापदण्डअनुसार निर्धारण गरिनेछ।
राइड सेयरिङमा प्रयोग हुने दुईपाङ्ग्रे सवारीको भाडादर मन्त्रालयले निर्धारण गर्नेछ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अनिवार्य यात्रु बिमाको व्यवस्था पनि गरिएको छ।

