काठमाडौं । नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाइएको छ। नेपाल आयल निगमले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार ग्यास उद्योग एकीकरणको नीति कार्यान्वयनमा लैजान उद्योगहरूलाई पत्राचार गरेको हो ।
निगमले २०८३ कात्तिक १२ गते सबै एलपी ग्यास उद्योगलाई पत्र पठाउँदै उद्योग गाभ्ने नीतिलाई प्रोत्साहन गर्न आग्रह गरेको छ। साथै, सोहीअनुसार आवश्यक कार्ययोजना तयार गरी एकीकरणको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ ।
निगमको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर ३२ मा विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने उल्लेख छ ।
ग्यासको बिक्री वितरण व्यवस्थित बनाउने लक्ष्य
आयल निगमका अनुसार ग्यास उद्योग एकीकरणको पहलले ग्यासको बिक्री तथा वितरण प्रणालीलाई थप व्यवस्थित, सहज र उपभोक्तामैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विभिन्न नाम र ब्रान्डमा सञ्चालन भइरहेका उद्योगलाई एकीकृत गर्दा उद्योग सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता आउने र ग्यास वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सकिने निगमको अपेक्षा छ ।
कार्ययोजना बनाएर प्रक्रिया अघि बढाइने
निगमले उद्योगहरूलाई एकीकरण नीतिअनुसार कार्ययोजना तयार गर्न आग्रह गरे पनि उद्योग गाभ्ने प्रक्रिया कुन ढाँचामा अघि बढ्ने भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।
आगामी चरणमा उद्योगहरूबीचको सहमति, एकीकरणको प्रक्रिया तथा आवश्यक व्यवस्थापनका विषय टुंगो लाग्दै जानेछन् । निगमको यो पहल कार्यान्वयनमा आए नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगको संरचना र बजार व्यवस्थापनमा परिवर्तन आउने अपेक्षा गरिएको छ ।

