२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • सोमबार, चैत १६ २०८२
  • 3.6K
    SHARES

  • images
    बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं-  बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत चैत १ गतेदेखि बिक्री खुला गरेको यो सेयरमा आवेदन दिने म्याद आज चैत १५ गते सकिन लागेको हो।

    कम्पनीले आफ्नो कुल १ अर्ब ४ करोड रुपैयाँ जारी पूँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल १० लाख ४० हजार कित्ता सेयर स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

    सेयर वितरणको योजनाअनुसार आयोजनाको अति प्रभावित क्षेत्र मानिने सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दाहरूका लागि ५ लाख २० हजार कित्ता सेयर छुट्याइएको छ। त्यसैगरी, सोही नगरपालिकाका वडा नं. ५, ६, ७ र ११ का बासिन्दाका लागि ३ लाख १२ हजार कित्ता र सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दाहरूका लागि बाँकी २ लाख ८ हजार कित्ता सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

    यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। सेयर निष्कासनको लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई 'इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस'  (ICRANP-IR BB+) प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक स्थानीय बासिन्दाले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

    यसका साथै एनएमबि बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend