काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज कम्पनीले सर्वसाधारणलाई यसअघि निष्कासन गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले फागुन १२ गतेदेखि १५ गतेसम्म अंकित मूल्य १ सयका दरले ४५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टका अनुसार सो सेयरमा कुल २४ लाख १३ हजार ५१७ जनाले आवेदन दिएका थिए ।
जसमध्ये २३ लाख ७६ हजार ७०५ आवेदन मात्रै स्वीकृत भएका थिए भने बाँकी आवेदन रद्द भएका थिए । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । बाँकी १९ लाख २६ हजार ७०५ आवेदकको हात रित्तो भएको छ ।
तानसेन ब्रान्डमा ओपीसी, पीपीसी तथा पीएससी सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको यो कम्पनीले भारतमा निर्यात समेत गर्ने गरेको छ । दैनिक १ हजार ८ सय टन क्लिंकर र २ हजार २ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । नवलपरासीको सुनवलमा फ्याक्ट्री सञ्चालनमा छ ।


