काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत दुई जलविद्युत् कम्पनी सुपर मादी हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन आज अन्तिम अवसर रहेको छ। दुवै कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि भोलि मंसिर १७ गते सेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्दैछन्। त्यसैले आज नेप्सेमा कारोबार भई सेयरधनी कायम भएकाहरू मात्र लाभांशका लागि योग्य हुनेछन्।
सुपर मादी हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ का लागि चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई पारित गर्न पुस ४ गते बिहान ११ बजे काठमाण्डौको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा १६औं वार्षिक साधारण सभा बोलाइएको छ। त्यसैगरी माउन्टेन इनर्जी नेपालले पनि गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ र यो प्रस्ताव मंसिर २९ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गराई वितरण गरिनेछ।


