काठमाडौं । मनाङ जिल्लामा निर्माण हुने ६१.११ मेगावाट क्षमताको नारखोला जलविद्युत् आयोजनाको वित्तीय लगानी टुंगो लागेको छ। कुमारी बैंकको अगुवाइ तथा नेपाल एसबीआई बैंकको सह–अगुवाइमा कृषि विकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकको सहभागितामा कुल ९ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी हुने गरी सोमबार वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो। कार्यक्रममा नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
आयोजनाले नार्पा भूमि र नाशों गाउँपालिकामा बहने नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी विद्युत् उत्पादन गर्नेछ। यसको ग्रस हेड ५८८.८२ मिटर तथा हेडरेस टनेल करिब ८ किलोमिटर लामो छ भने वार्षिक ३६६.४८ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान छ। बाँध र हेडवर्क्स नार्पा भूमिमा रहने र करिब ८ किमि सुरुङमार्फत पानी नाशों गाउँपालिकास्थित पावरहाउसमा लगेर विद्युत् उत्पादन गरिनेछ। उत्पादित बिजुली मनाङको निर्माणाधीन धारापानी सबस्टेसनमा जोडिनेछ।
आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेको छ, जसमध्ये ९ अर्ब ६३ करोड बैंक ऋण र ३ अर्ब २१ करोड स्वपुँजी रहनेछ। स्वपुँजीतर्फ सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद सम्झौता (PPA) भइसकेको र सबै कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भएकोले अब चाँडै निर्माण कार्य सुरु हुने अपेक्षा गरिएको छ।


