काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि कात्तिक २५ गते मंगलबार एपीआई इन्टिग्रेशन सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरेका हुन्।
एपीआई इन्टिग्रेशन अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीको एयरमार्क व्यवस्थापनलाई प्रविधि मार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ। यस प्रणालीले प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक रिक्वेस्टहरूलाई स्वतः प्रमाणीकरण गरी सही विवरण भएको रिक्वेस्ट मात्र स्वीकृत गर्नेछ भने त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्म मार्फत बीमकलाई स्वचालित रूपमा फिर्ता पठाउनेछ।
यस इन्टिग्रेशनका लागि नबिल बैंकको तर्फबाट विशेष मिडिलवेयर विकास गरिएको छ जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणलाई बैंकको कोर बैंकिङ प्रणालीमा प्रत्यक्ष पहुँच प्रदान गर्दछ। यस प्रणालीले सही विवरण मात्र स्वीकार गर्ने र त्रुटिपूर्ण विवरणलाई अस्वीकार गर्ने प्रक्रिया स्वचालित रूपमा कार्यान्वयन गर्नेछ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन तथा उपनिर्देशक रविन्द्र श्रेष्ठ र नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाल लगायतको उपस्थिति रहेको थियो।


