काठमाडाैं। नेपाल राष्ट्र बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई १ हजारको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो।
राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ उक्त कम्पनीलाई दिएको सूचनामा उल्लेख छ। उक्त नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरीका लागि कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा ठेक्का पाएको हो।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै १ हजार दरको नयाँ नोट छाप्न प्रस्ताव गर्न इच्छुक कम्पनीहरुलाई आग्रह गरेको थियो। साेहीअनुसार चिनियाँ कम्पनीले नोट छपाइको जिम्मा लिएकाे हाे। यसअघि पनि नेपालका ५, १०, ५०, १००, र ५०० रुपैयाँ दरका नोट छाप्ने जिम्मा सोही चिनियाँ कम्पनीले पाएको थियो।


