काठमाडौं। एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरणअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुवै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालू आर्थिक वर्षको पहिलो ३ महिनासम्म बैंकले ९१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.०४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४९ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी १४.३७ प्रतिशत बढेको छ।
बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २३.४७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४.३१ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ७१ करोड ३९ लाख रुपैयाँ पुगेसँगै खुद नाफा र सञ्चालन मुनाफा घट्न पुगेको हो। सोही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९४ करोड छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ घटेर १९ रुपैयाँ ९५ पैसामा सीमित भएको छ। असोजसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात ११.७८ गुणा छ।
बैंकले असोजतसम्म २ खर्ब ९० अर्ब निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब कर्जा प्रवाह गरेको छ। १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २६ करोड सञ्चित छ।


