काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले आगामी मंसिर १२ मा बस्ने गरी १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ। कात्तिक १८ मा बसेको बैंक सञ्चालक समिति बैठकले साधारणसभाको मिति तय गरेको हो।
साधारणसभामा बैंकले सेयरधनीलाई वितरण गर्ने घोषणा गरिसकेको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ०.२६३ प्रतिशत नगद लाभांश पारित गरिने बैंकको सूचनामा उल्लेख छ।
गत आर्थिक वर्षका वित्तीय विवरण पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्त, संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा राखिएको छ।
बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भए सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १७ गते बुक क्लोज गरिसकेको छ।


