काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ। बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज कात्तिक १७ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा यही कात्तिक २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित बिरौटामा रहेको होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित छ।
सभाले सञ्चालक समितिको प्रस्तावबमोजिम हाल कायम चुक्तापुँजीको ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) वितरण गर्न स्वीकृति प्रदान गर्ने भने आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ।
सभाले सञ्चालक समितिको प्रस्ताव तथा नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम हाल कायम चुक्तापुँजीको ६ प्रतिशतबराबरको बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्नेछ भने बैंकको हाल कायम अधिकृत पुँजी वृद्धि गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नेछ।


