२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नबिल एसएसईको छैटौं फेलोसिप समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा विशेष जोड


सञ्चार डबली
  • सोमबार, असोज २७ २०८२
  • 4.9K
    SHARES

  • images
    नबिल एसएसईको छैटौं फेलोसिप समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा विशेष जोड

    काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्न स्थापना गरेको नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सका लागि नयाँ समूहमा आवेदन खुला गरेको छ। इच्छुक १८ वर्षभन्दा माथिका नेपाली नागरिकहरूले आउँदो कात्तिक २८ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन्। कार्यक्रमले उद्यमशीलतामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोजकुमार ज्ञवालीका अनुसार यसपटकको नबिल एसएसई कार्यक्रम विशेषगरी गरिब, विपन्न तथा पछाडि पारिएका समुदायलाई लक्षित गरिएको छ। उनले सामाजिक उद्यमशीलता मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरणका लागि सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्।

    नबिल एसएसई अन्तर्गत हाल छैटौं ब्याचका लागि फेलोसिप कोर्समा आवेदन खुला गरिएको हो। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायसँग सहकार्यमा सञ्चालन भइरहेको यो छ महिनाको कार्यक्रम स्टार्टअप र नवीन सामाजिक उद्यम आइडिया भएका व्यक्तिहरूलाई लक्षित गरिएको छ। सहभागीहरूले विश्वस्तरीय तालिम, मेन्टरसिप, नेटवर्क विस्तार र वित्तीय पहुँचजस्ता सुविधा पाउनेछन्। हालसम्म ७६ जना सहभागी भइसकेका छन् भने ६२ वटा उद्यम सञ्चालनमा छन्।

    त्यस्तै, नबिल एसएसईअन्तर्गतको तीन महिनाको सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा सञ्चालनमा रहेको छ। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस (कोशी), वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक स्कुल (मधेस), क्याम्पियन कलेज (बाग्मती), क्षितिज इन्टरनेशनल कलेज, दिव्यज्योति क्याम्पस, कोहलपुर मोडल कलेज (लुम्बिनी), सुर्खेत मोडल कलेज (कर्णाली) र सुदूरपश्चिमाञ्चल एकेडेमी (सुदूरपश्चिम) मा कार्यक्रम सञ्चालित छ। हालसम्म १,०६९ जनाले यो कोर्सबाट लाभ लिइसकेका छन्।

    बैंकले सर्टिफिकेट कोर्सलाई यस वर्षदेखि प्रदेशअनुसार फरक प्राथमिकतामा केन्द्रित गर्दै सञ्चालन गरिरहेको छ। कोशीमा हाइ भ्यालु क्रप्स, मधेसमा एग्रो भ्यालु चेन, बाग्मतीमा डिजिटल नवप्रवर्तन र हरित उद्यम, गण्डकीमा सामुदायिक होमस्टे तथा पर्यटन, लुम्बिनीमा धार्मिक पर्यटन र संस्कृतिसँग सम्बन्धित उद्यम, कर्णालीमा मौरीपालन, बाँस र जडीबुटीजन्य उद्यम, तथा सुदूरपश्चिममा ग्रामीण पर्यटन र पशुपालनलाई प्राथमिकता दिइएको छ।

    नबिल बैंकले नबिल एसएसईलाई आफ्नो दीगो विकास रणनीतिको एक अभिन्न हिस्सा मानेको छ। बैंकका अनुसार हालसम्म यो कार्यक्रममार्फत १७ हजारभन्दा बढी रोजगारी सिर्जना भइसकेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वित्तीय साक्षरता, स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तन, उद्यमशीलता विकास लगायतका क्षेत्रमा सक्रिय भूमिका खेलेको छ।

    इच्छुक उम्मेदवारहरूले नबिल बैंकको वेबसाइट वा नबिल एसएसईका सामाजिक सञ्जालमार्फत आवेदन दिन सक्नेछन्। बैंकले आगामी दिनमा पनि सामाजिक परिवर्तनमा योगदान पुर्‍याउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend