काठमाडौं ।सरकारलाई एनसेलले लाइसेन्स नवीकरणको दोस्रो किस्ता रकम बुझाएको छ । कम्पनीले वार्षिक १० प्रतिशत ब्याजसहित एक साता अघि नै नेपाल दूरसञ्चार प्राधिकरणको खातामा नवीकरण बापतको किस्ता रकम जम्मा गरेको हो ।
एनसेलले ६ भदौमा नवीकरणको दोस्रो किस्ताबापत ब्याजसहित तीन अर्ब २९ करोड रुपैयाँ तिरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । “असारमा २ अर्ब तिरेको एनसेलले बाँकी ३ अर्ब २९ करोड रुपैयाँ बुझाएको हो,” अर्यालले भने ।
१५ भदौसम्म नवीकरण शुल्क बुझाउनुपर्नेमा एनसेलले २६ असारमै दुई अर्ब रुपैयाँ र ६ भदौमा ब्याजसहित बाँकी तीन अर्ब २९ करोड रुपैयाँ तिरेको छ ।
प्राधिकरणले खुमलटारको जग्गा खरिद गर्न एनसेलबाट दुई अर्ब रुपैयाँ अग्रिम भुक्तानी लिएर सार्वजनिक सेवा प्रसारण संस्था (तत्कालीन रेडियो नेपाल)को नाममा रहेको जग्गा खरिद गरेको थियो ।


