काठमाडौं, २७ साउन । माछापुच्छ्रे बैंक लिमिटेड पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका–५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ। यो सहयोग बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको हो।
विद्यालयका विद्यार्थीको दैनिक एसेम्ब्ली तथा विभिन्न कार्यक्रम सञ्चालनमा सहजीकरण होस् र बालकक्षा सञ्चालनमा कार्पेट उपयोगी होस् भन्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक मिना कुमारी पचभैयाले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बैंकका शाखा प्रबन्धक बिक्रम राणा रहेका थिए।
कार्यक्रममा बैंकका सञ्चालक प्रमुख शिवम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, बिरेन्द्र रावल, नारायण झेडी, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन ऋषिराम भुसालले गरेका थिए। प्रमुख अतिथि राणाले ग्रामीण विद्यालयलाई सहयोग गर्न पाउँदामा खुशी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता जनाए।


