काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान)को २०औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । आर्थिक क्षेत्रमा देखा परेका समस्या र चुनौतीहरू तथा लेखा व्यवसायीले सामना गर्नुपरेका मुद्दाहरूमा केन्द्रित गोष्ठी, अन्तरक्रिया, सामाजिक सहयोग तथा सहकार्य लगायतका कार्यक्रमहरू सम्पन्न भएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा आयोजित मुख्य कार्यक्रममा पहिलो सत्रमा दुईवटा कार्यपत्र प्रस्तुत गरिँदै सेसन सञ्चालन गरिएको थियो । दोस्रो सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो ।
अडानका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षता र महासचिव तिलक बहादुर अधिकारीबाट सञ्चालित यस कार्यक्रममा झण्डै ९०० को संख्यामा रहेका लेखापरीक्षक, लेखा व्यवसायीहरू, कर्पोरेट लेखापाल र व्यावसायिक लेखापालहरुको सहभागिता रहेको थियो ।


