२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको अगुवाइमा माथिल्लो सेती जलविद्युत आयोजनाका लागि जुट्यो ४१ अर्ब ६० करोड लगानी


सञ्चार डबली
  • शनिबार, साउन १७ २०८२
  • 4.7K
    SHARES

  • images
    कुमारी बैंकको अगुवाइमा माथिल्लो सेती जलविद्युत आयोजनाका लागि जुट्यो ४१ अर्ब ६० करोड लगानी

    शनिबार, १७ साउन २०८२
    काठमाडौँ । कुमारी बैंक लिमिटेडको अगुवाइमा माथिल्लो सेती जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंकले अगुवाई गर्ने भएको हो ।

    एक समारोहबिच वित्तीय व्यवस्थापन गर्न कुमारी बैंक लिमिटेडको नेतृत्वमा र एनएमबी बैंक लिमिटेडको सह–नेतृत्व, माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एन आइ सी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइ.सि.एफ.सि. फाइनान्ससहितको सहवित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ ।

    २०८२ साउन १६ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको हो ।

    सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनाल र प्रवद्र्धक कम्पनी  समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।

    कुमारी बैंक लिमिटेड, नेपालका प्रमुख वाणिज्य बैंकहरूमध्ये एक, हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत तथा सौर्य उर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ ।

    बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिवद्धता सहित० २,००० मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा ९सहवित्तीयकरण अन्तर्गत समेत) योगदान प्रदान गरेको छ ।

    जसमध्ये केहि सञ्चालनमा रहेको र अरु विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्ति बढाउन महत्वपूर्ण योगदान पु-याइरहेका छन् ।

    करीब रू. ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने यस आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र Due Diligence Study समेत सम्पन्न भइसकेको छ ।

    यो आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको Design Discharge ३४.१ घन मिटर प्रति सेकेन्ड रहेको छ भने Gross Head ७५८.९ मिटर र Net Head ७३५.६ मिटर रहेको छ । आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घन मिटर प्रति सेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ ।

    नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता २०८० साल साउन १९ गते सम्पन्न भई २०८१ वैशाख ३१ गते विद्युत उत्पादन अनुमति (Generation License) प्राप्त भइसकेको छ । आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गते (१५ जुलाई २०३१) भित्र व्यावसायिक उत्पादन सुरू गर्ने लक्ष्य सहित अघि बढाइएको छ ।

    आयोजनाबाट वार्षिक १,२२९.६ गिगावाट घण्टा विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ । वर्षायाममा ८३४.४९ GWh र सुखा याममा ३९५.११ GWhउत्पादन हुनेछ, जसमा १६३.६३ GWh Peak Energy हुनेछ । सुखा याममा Peak Energy को विद्युत दर प्रतियुनिट रू. १०.५५ र Non–Peak Energy को दर रू. ८.४० रहनेछ ।

    उत्पादित विद्युत आयोजनास्थलमै निर्माण गरिने २२० के.भी. को स्विचयार्डबाट ३० किलोमिटर लामो २२० के.भी. डबल सर्किट प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रस्तावित ४०० के.भी. बझाङ सब–स्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करीब रू. १९.२५ करोड हुनेछ र प्रथम वर्षमै अनुमानित रू. ७ अर्ब ६७ करोड आर्जन हुने अपेक्षा गरिएको छ ।

    आयोजनाको ३० प्रतिशत स्वपुँजी प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ । ठूला लगानीकर्ताहरूमा Siuri Nyadi Power Limited, Ngadi Group Power Limited, Sagarmatha Jalbidhyut Company Limited, Mai Khola Hydropower Limited, Yesh Holding Pvt. Ltd लगायतका ठुला कम्पनीहरू तथा शैलेन्द्र गुरागाईं, डा. भोगेन्द्र कुमार गुरागाईं, र दिनेश गुरुङ्गजस्ता अनुभवी लगानीकर्ताहरू रहेका छन् ।

    स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जलविद्युत विकासको इतिहासमा अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको कुमारी बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend