काठमाडाैं। एनआईसी एशिया बैंकले बैंकिङ्ग सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेकाे छ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सबै किसिमका सूचनाबारेमा विस्तृत जानकारी समेटिएको जनाएकाे छ।
यसको लागि ग्राहकले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूकाे कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारी प्राप्त गर्न सक्ने बैंकले बताएकाे छ।
ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखेर म्यासेजसमेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।


