काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा ३ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँको वृद्धि भएको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार, जेठ महिनामा मात्र ३६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको हो।
गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो। चालु आवको जेठ मसान्तसम्ममा यो कर्जा प्रवाह ८.२३ प्रतिशतले वृद्धि भई ४९ खर्ब ४७ अर्ब २० करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकले चालु आवमा कर्जा प्रवाह १२.५ प्रतिशतले बढ्ने प्रक्षेपण गरे पनि आर्थिक वर्ष सकिन एक महिना मात्रै बाँकी रहँदा लक्ष्य अनुरूप प्रगति देखिएको छैन।
साउनमा दुई अर्ब रुपैयाँले वृद्धि भएको कर्जा प्रवाह भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब र मंसिरमा ४२ अर्बले बढेको थियो। कात्तिक र वैशाखमा भने क्रमशः दुई र चार अर्बले घटेको थियो। चैतमा ६५ अर्ब र जेठमा ३६ अर्बले कर्जा प्रवाह बढेको छ।
११ महिनाको अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५ खर्ब ३ अर्ब ३९ करोडले बढेर ६२ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। गत आवको असार मसान्तसम्म यो रकम ५७ खर्ब ५४ अर्ब ७७ करोड थियो।


