काठमाडौं, असार ४ । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लाको नासोङ गाउँपालिकामा ७.८३ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माणका लागि १३६ करोड रुपैयाँको वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ।
यस सम्झौतामा एभरेष्ट बैंकका कार्यकारी प्रमुख श्री सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष श्री विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित हो।
परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ र यसका लागि चाइनिज ठेकेदारलाई EPC (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा ठेक्का दिइएको छ। उत्पादित विद्युत मनाङ जिल्लाको धारापानीस्थित सबस्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिनेछ। यस परियोजनाबाट वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत उत्पादन हुनेछ।
नेपाल विद्युत प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत खरिद बिक्री सम्झौता २०८२ वैशाखमा सम्पन्न भइसकेको छ।
पंजाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारीमा स्थापित एभरेष्ट बैंकका हाल करिब १४ लाखभन्दा बढी ग्राहकहरू छन्। बैंकको देशभर १३२ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटीएम रहेका छन्।
एभरेष्ट बैंकले अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैंकिङ सुविधा प्रदान गर्दै आएको छ भने नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा दिइरहेको छ। बैंकको भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालयहरू छन्।


