शुक्रबार, २३ जेठ २०८२
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले आज कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सफलतापूर्वक साधारण सभा सम्पन्न गरेको हो।
सभामा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाहरूको संक्षिप्त जानकारी गराएका थिए । त्यसपश्चात् सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तव्य सहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभाबाट विभिन्न महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत पारित भएको छ । संचालक समितिको प्रतिवेदनमाथि सभामा शेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको इन्स्योरेन्सले जनाएको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित, २०८१ आषाढ मसान्तको वासलात, आ.व. २०८०/०८१ को नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत पारित गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि बाह्य लेखापरिक्षकको रुपमा जे एन उपाध्याय एन्ड को लाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जनलाई निर्विरोध निर्वाचित गरेको छ ।
सभाको समापनमा संस्थाका अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित संचालकलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण शेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे । उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीतिहरू र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्याउँदै सभा विसर्जनको घोषणा गरेका थिए ।


