काठमाडौं, जेठ १९ । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४, मनौरास्थित श्री राम जानकी आधारभूत विद्यालयलाई स्मार्ट बोर्ड र खेलकुद सामग्री हस्तान्तरण गरेको छ। शिक्षामा प्रविधिमैत्री पहुँच विस्तार गर्न र बालबालिकाको समग्र विकासलाई टेवा पुगोस् भन्ने उद्देश्यले बैंकले विद्यालयलाई स्मार्ट बोर्ड, फुटबल, भलिबल, ब्याटमिन्टनलगायतका खेलकुद सामग्री सहयोग स्वरूप प्रदान गरेको हो।
बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई उक्त सामग्रीहरू हस्तान्तरण गरे। कार्यक्रममा बैंकका अधिकारी, विद्यालयका शिक्षक तथा समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। प्रदेश प्रमुख दाहालले बैंकले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न जिल्लामा समय–समयमा यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिए। उनले स्थानीयस्तरमा शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको पनि भूमिका हुनुपर्नेमा जोड दिए।
नेपाल एसबिआई बैंक लिमिटेडले ३१ वर्षदेखि देशभर बैङ्किङ सेवा दिँदै आएको छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
बैंकले ग्रामीण तथा शैक्षिक रूपले पछि परेका क्षेत्रमा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता र पूर्वाधार विकासमा सहयोग गर्दै आएको जनाएको छ। यस्तो कार्यक्रमले विद्यार्थीको सिकाइ क्षमतामा सुधार आउने तथा विद्यालयको शिक्षण शैलीमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।


