काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेसँगै विद्युतीय गाडी आयात ह्वात्तै बढेको छ । सरकारले नयाँ बजेटमार्फत् करका दर हेरफेरको तयारी गरिरहँदा यतिबेला काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह परिसरभित्र विद्युतीय गाडीहरूको चाङ बढ्दै गइरहेको छ । आगामी आर्थिक वर्षको बजेट आउन साता दिनअघि सुक्खा बन्दरगाहमा विद्युतीय सवारी साधन थुप्रिएका छन् ।
अहिले चोभार सुक्खा बन्दरगाहको परिसर विद्युतीय सवारीसाधनले खचाखच भरिएको छ । तर, यी सबै गाडी चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँच पास भएका भने होइनन् । उत्तरी नाकाबाट भन्सार पास भइसकेका यी गाडी केवल बन्दरगाहमा पार्किङ गरेर राखिएको हो ।
चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा केवल १९ वटा नयाँ विद्युतीय गाडी र केही इन्धन गाडी गरी करिब ५०–६० गाडी मात्रै छन् । भन्सार कार्यालयको परिसर ९० प्रतिशत खाली छ । त्यसबाहेक सुक्खा बन्दरगाहको क्षेत्रमा विद्युतीय सवारी साधनको चाङ अत्यधिक बढेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनमा कर बढाउने आशंकामा आयात बढेको देखिन्छ । गत चैत २९ गते नै रामेश्वर खनाल नेतृत्वको आयोगले इन्धन गाडी र विद्युतीय गाडीमा कर समायोजन गर्न तथा कार्बन उत्सर्जन गर्ने खालका सवारी साधनमा हरित कर लगाउन सुझाव दिएको थियो।
बजेटबाट अन्तःशुल्क तथा भन्सार महसुल बढ्न सक्ने आशंकामा व्यवसायीहरूले गाडी आयात गर्ने क्रम गत वर्षभन्दा निकै बढाएका छन् । तथ्यांकमै हेर्ने हो भने, चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै १ हजार ८ सय ९६ वटा विद्युतीय कार, भ्यान र जीप आयात भएका छन् । जबकि गत वर्ष आर्थिक वर्षको सोही अवधिमा १ हजार ४०४ वटा ईभी आयात भएका थिए । समग्रमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ९ हजार ८ सय ७७ वटा सवारी आयात भइसकेका छन् ।


